समाचार

यूके पठाइदिने भन्दै करोडौं ठगी गर्ने दुईजना पक्राउ



काठमाडौँ, २७ जेठ । यूके पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने गिरोहका दुई जना सदस्य पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–१० स्थायी ठेगाना भई हाल काठमाडौँ सरस्वती नगर बसोबास गर्ने ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा सबेला नगरपालिका–१२ स्थायी ठेगाना भई हाल काठमाडौँ नरेफाँट बसोबास गर्ने ४७ वर्षीय अरुण राज शर्मा रहेका छन् ।

उनीहरूलाई काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको हो ।

महेश लिम्बुले दिएको जाहेरीका आधारमा वैदेशिक रोजगार विभाग, ताहाचलको अनुरोधमा उनीहरूलाई पक्राउ गरिएको हो ।

अनुसन्धानको क्रममा हालसम्म ३८ जना पीडितबाट यूके पठाइदिने भन्दै झण्डै ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरिएको खुलेको प्रहरीले जनाएको छ ।