काठमाडौँ, २८ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा गरिएको ५२ पदाधिकारी नियुक्तिविरुद्ध परेका रिटको छिनोफानो हुने दिन नजिकिँदै गर्दा भ्रष्टाचार मुद्दा अभियोजनले तीव्रता पाएको छ । अख्तियारले जेठमा मात्रै २६ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ ।
अख्तियारले पछिल्लो समय दिनहुँजसो मुद्दा अभियोजन गरिरहेको छ । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार सोमबार एकै दिन ६ मुद्दा विशेष अदालतमा दर्ता गरिएको छ ।
अख्तियारले चालु आर्थिक वर्षमा हालसम्म १ सय १८ मुद्दा दायर गरेको छ । सुरुका ६ महिना (साउन–पुस) मा ४६ मुद्दा दायर भएकामा त्यसपछिका पाँच महिना (माघ–जेठ) मा ७२ वटा मुद्दा विशेष अदालत लगिएका छन् ।
सर्वाधिक मुद्दा दायर गरिएको महिना जेठ हो । अभियोग लागेका व्यक्तिको पद र बिगोका हिसाबले यही महिनामै सबैभन्दा ठूला मुद्दा दायर भएका छन् । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीको हदबन्दीभन्दा बढी जग्गा हिनामिनामा अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई समेत प्रतिवादी बनाएर २२ जेठमा मुद्दा दायर गरेको छ ।
यस मुद्दामा साढे १८ करोड बिगो मागदाबी गरिएको छ । यसअघि १ जेठमा कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध दूरसञ्चार प्राधिकरणका लागि टेरामक्सका उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाएको थियो । टेरामक्सको अनियमिततामा सवा तीन अर्ब बिगो कायम गरिएको छ ।
अख्तियारले मंगलबार मात्रै मधेश प्रदेशसभाका एमाले सांसद दीपेन्द्रकुमार ठाकुरलगायत विरुद्ध अस्पताल निर्माणको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगसहित मुद्दा दायर गरेको छ । नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद अनियमिततामा प्रबन्ध निर्देशक संगीता पहाडी र पूर्वप्रबन्ध निर्देशक सुनील पौडेललगायत विरुद्ध गत आइतबार मुद्दा दायर भएको छ । अख्तियारले त्यसबाहेक पनि घूस, झुटा शैक्षिक प्रमाणपत्र, गैरकानुनी सम्पत्ति आर्जन, सार्वजनिक सम्पत्तिको हानि नोक्सानी, गैरकानुनी लाभ र हानि, राजस्व चुहावट लगायतका भ्रष्टाचार मुद्दा विशेष अदालतमा लगेको छ ।
अख्तियारले साउनमा ९, भदौमा १६, असोजमा ३, कात्तिकमा २, मंसिरमा ७, पुसमा ९, माघमा १३, फागुनमा २, चैतमा १२ र वैशाखमा १९ मुद्दा दायर गरेको थियो । कान्तिपुर
प्रतिक्रिया दिनुहोस्