काठमाडौँ, २९ जेठ । २०८२ ज्येष्ठ २९ गते (सन् २०२५ जुन १२ तारिख) बिहीबार अर्थात आज बेलुकी ५ बजेर ७ मिनेटबाट वृहस्पति ग्रह पश्चिममा अस्त हुँदै छन् ।
आजबाट अस्त हुने वृहस्पति असार २२ गते (२०२५ जुलाई ६ तारिख) आइतबार बिहान ६ बजेर ५३ मिनेटमा पूर्वमा उदय हुनेछन् ।
जब वृहस्पति सूर्यसँग ११ डिग्रीभन्दा कम कोणमा आउँछ तब अस्त मानिनेछ र उसले दिने फल कमजोर हुन्छ र पूर्ण रूपमा निष्क्रिय मानिनेछ । वृहस्पति ग्रहलाई ज्ञान, धर्म, विवाह, सन्तान र शुभ कार्यको प्रमुख कारक ग्रह मानिन्छ । यो ग्रहलाई शुभता, मार्गदर्शन र विवेकको प्रतीक मानिन्छ ।
त्यसैले जब यो ग्रह अस्त हुन्छ तब यसको शुभ प्रभावहरू पृथ्वीका कम आउने विश्वास गरिन्छ र शुभ कार्यहरू गरिँदैन । महत्त्वपूर्ण दुई शुभ ग्रहहरू वृहस्पति र शुक्र अस्तको समयमा शुभ कार्य थालनी गर्नुहुन्न भन्ने शास्त्रीय मान्यता पनि रहेको छ ।
विगत वर्षहरूमा असारमा विवाहको लगन हुने भएता पनि यो वर्ष ज्येष्ठ २९ देखि असार २२ गतेसम्म वृहस्पति अस्त हुने र २२ गतेपछि विवाहको लगन नभएकोले विवाह गर्न तम्तयार भएर बसेका बर र वधूले मङ्सिर ६ गतेसम्म कुर्नु पर्ने भएको छ । शुभ ग्रह जस्तै वृहस्पति र शुक्र अस्त हुनुभन्दा ३ दिन अगाडीदेखि शुभ कार्यहरू गर्न नहुने र उदय भएपछि पनि ३ दिनपछि सम्म बार्नुपर्ने शास्त्रमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्