काठमाडौँ, २९ जेठ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनमा प्राथमिकता निर्धारण गरेर सहजीकरण गर्न निर्देशन दिनुभएको छ ।
अर्थ मन्त्रालय, उच्चस्तरीय व्यवस्थापन समूहको बुधबारको बैठकमा उहाँले अन्तरमन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिनुभएको हो । व्यावहारिक पक्षलाई हेरेर परिणाममुखी हिसाबले आगामी आर्थिक वर्ष २०८२/८३ को मासिक र वार्षिक लक्ष्य निर्धारण गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । अर्थमन्त्री पौडेलले परिणाममुखी अभ्यासमा जान जरुरी रहेको उल्लेख गर्दै लक्ष्य पूरा गर्न अतिरिक्त मेहनतका साथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, “अर्थ मन्त्रालयले रोक्छ भन्ने बाटोबाट नहिँडौँ । प्राथमिकताका आधारमा सहजीकरण गरेर छिटो कार्य सम्पन्न गर्ने वातावरण तयार पारौँ ।”
आगामी बजेट कार्यान्वयनमा जाँदा कानुन संशोधन गर्नुपर्ने आवश्यकता भएकाले सबैसँगको परामर्शमा संशोधनको गृहकार्य गर्न बैठकमा उहाँले निर्देशन दिनुभयो । त्यस्तै आवको बजेट कार्यान्वयनका लागि पूर्वतयारीका काममा लाग्न पनि उहाँको निर्देशन थियो ।
प्रतिक्रिया दिनुहोस्