काठमाडौँ, ३१ जेठ । मुस्ताङका किसानलाई अनुदान सहुलियतमा कृषि यान्त्रिक उपकरण वितरण गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउ र आलु जोन कार्यक्रम अन्तर्गत यहाँका किसानलाई १६ थरीका कृषि यान्त्रिक उपकरण ५० प्रतिशत अनुदानमा वितरण गरेको हो ।
परियोजनाअन्तर्गत च्याङ्ग्रा जोन, आलु जोन र स्याउ जोन कार्यान्वयनमा छन् । जोनको वार्षिक स्वीकृत कार्यक्रमअनुसार परियोजना कार्यान्वयन एकाइ मुस्ताङले घरपझोङ, थासाङ, वारागुङ मुक्तिक्षेत्र र लोमान्थाङ गाउँपालिकाका किसानलाई मागका आधारमा ५० प्रतिशत अनुदान दिने गरी कृषि यान्त्रिक उपकरण वितरण गरिएको परियोजना कार्यान्वयन एकाइ मुस्ताङका कार्यालय प्रमुख भरतराज गौतमले जानकारी दिए । उनका अनुसार चालु वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुरूप आज मुस्ताङका किसानलाई कृषि यान्त्रिक उपकरण वितरण गरिएको छ ।
परियोजनाले स्याउ जोनतर्फ १५ लाख र आलु जोनतर्फ १८ लाख ३५ हजार बजेटमा रहेर पाँच वटै स्थानीय तहलाई समेट्ने गरी यान्त्रिक उपकरण हस्तान्तरण गरेको कार्यालय प्रमुख गौतमले जानकारी दिए। परियोजनाले २६ थान डिजेलबाट चल्ने र नौ थान पेट्रोलबाट चल्ने गरी कूल ३५ थान यान्त्रिक उपकरण हलो अनुदान सहुलियतमा वितरण गरेको छ ।
यसैगरी स्याउ र आलु जोन कार्यक्रमअन्तर्गत परियोजनाले घाँस काट्ने ब्रसकटर १९ थान, सिकेचर १८ थान, करौँती १४ थान, डिजिटल तराजु ३६ थान, मोटर स्प्रे २१ थान, पावर स्प्रे २९ थान, रिप्याक्टोमिटर १ थान, ब्रस कटर १९ थान, भर्याङ सात थान, कुटो २९, कोदाली ८३ थान, गैँची दुई थान, बाउसो २४ थान डोजे २१ थान, बेल्चा पाँच थान पोर्टेबल लिड स्प्रे चार थान गरी ३१३ थान विभिन्न उपकरण अनुदान सहुलियतमा वितरण गरेको हो ।
प्रतिक्रिया दिनुहोस्