पाँचथर, १ असार । मेची राजमार्गस्थित पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका तीन जना मजदुरको ज्यान गएको छ ।
प्रहरीका अनुसार शनिबार बेलिब्रिज खस्दा घाइते भएका बाराको सिमरा उपमहानगरपालिकाका २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र सोही ठाउँका २२ वर्षीय प्रकाश चौधरीको ज्यान गएको हो।
दुर्घटनापछि घाइते उनीहरूलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको थियो। सोही अस्पतालका चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) कौशलकुमार बुढाथोकीले जानकारी दिए।
शनिबार साँझ ६ बजे निर्माणाधीन बेलिब्रिज खसेको थियो । फिदिम नगरपालिका-४ तर्फ राखिएको बेसदेखि ठेल्दै पारिपट्टि हिलिहाङ गाउँपालिका-७ मा जग टेकाएको केहिबेरमै बेलिब्रिज खसेको थियो। बेलिब्रिज खस्दा ६ जना घाइते भएका थिए ।
घाइतेमध्ये २ को अवस्था गम्भीर छ भने २ जना सामान्य छन्। उनीहरू सबैलाई उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगर पुर्याइएको छ । घटनामा बाराको सिमरा उपमहानगरपालिका-१२ घर भएका २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिशेक चौधरी घाइते छन् ।
प्रतिक्रिया दिनुहोस्