Banner News

कर्मचारीले राजीनामा दिए पनि दुई वर्ष ‘कुलिङ पिरियड’



काठमाडौँ, २ असार । संघीय निजामती सेवा विधेयकसम्बन्धी राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ ।

समितिका सभापति रामहरि खतिवडाले आइतबारको प्रतिनिधिसभाको बैठकमा समितिको प्रतिवेदन पेस गरेका हुन् । विधेयकमा निजामती तथा अन्य सरकारी सेवाका कर्मचारीलाई अवकाश वा राजीनामा लगत्तै नियुक्तिका लागि अर्को पदमा जान रोक लगाउने व्यवस्था छ । समितिले अवकाश पाएको दुई वर्षसम्म अर्को पदमा नियुक्ति नपाउने व्यवस्था पारित गरेको थियो । सभापति खतिवडाले भने, “अवकाश वा राजीनामा हुँदा दुई वर्ष कुलिङ पिरियड रहने व्यवस्था राखिएको छ ।”

कुलिङ पिरियडको विषयमा मुख्यसचिव एकनारायण अर्यालदेखि सचिवहरूले विरोध गर्दै शक्ति केन्द्रमा दबाब समेत दिएका थिए । कर्मचारीको विरोधकाबीच कुलिङ पिरियडको व्यवस्था राख्न सरकार सहमत भएको थियो । ०८० फागुन २१ गते दफाबार छलफलका लागि समिति पुगेको विधेयक ०८२ जेठ २ गते समितिबाट पारित भएको थियो ।