बागलुङ, २ असार । पूर्व अर्थमन्त्री तथा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सरकारी संस्थान निजीकरण गरेर राज्यलाई फाइदा पुगेको बताएका छन् ।
बीपी चिन्तन प्रतिष्ठान गण्डकी प्रदेशले आयोजना गरेको ‘तीन तहको बजेट निर्माण प्रक्रियाका समस्या र समाधान’ विषयक विचार गोष्ठीमा आएका महतले सोमबार उनले ती संस्थानहरु निजीकरण मात्र नभई निजी क्षेत्रलाई प्रोत्साहन गरेको दाबी गरे ।
महतले भृकुटी कागज कारखाना र हरिसिद्धि टायल उद्योग मात्र जग्गासहित बिक्री गर्नु कांग्रेसको गल्ती भएको बताए । अन्य संस्थानको निजीकरणले उत्पादन बढाएको महतको भनाइ छ । निजी क्षेत्र प्रोत्साहित बन्दा देशको आयस्रोत र कर, राजश्व पनि बढेको उनको भनाइ छ ।
स्थानीय र प्रदेश सरकारलाई पनि राजश्व बढाउने क्षेत्रको अध्ययन गर्न सुझाव दिए । २०४८ सालमा कांग्रेस सरकारले व्यवसायलाई भ्याटमा लगेपछि राज्यको बजेट पनि सय गुणा बढेको उनले दाबी गरे । भ्याट अघि १२ अर्बको बजेट अहिले १९ खर्ब पुग्नुमा दीर्घकालीन सोचकै उपज भएको समेत उनको दाबी थियो । निजी कम्पनीहरूले राम्रो फाइदा गर्ने, राज्यलाई अर्बौँ भ्याट तिर्ने तर सरकारी संस्थान डुब्ने भएपछि निजीकरणमै जानु राम्रो हुने उनको तर्क छ ।
कांग्रेसले निजीकरण मात्र गरेको नभई निजी क्षेत्रलाई प्रोत्साहन गरेको समेत उनले बताए । त्यसले करका दायरा पनि बढेको उनले बताए । ‘नेपाल एयरलाइन्स पनि अब सरकारले चलाउने होइन, निजी क्षेत्रलाई बहुमत सेयरमा चलाउन दिनुपर्छ,’ उनले भने, ‘सरकारी जिएमलाई तलब भत्ता खुवाउन मात्र एयरलाइन्स राख्नुको औचित्य छैन ।’
प्रतिक्रिया दिनुहोस्