शैक्षिक

एसईईमा ४ जीपीए ल्याउनेलाई १ लाख ५१ हजार पुरस्कार



काठमाडौँ, ४ असार । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

पालिकाले आर्थिक वर्ष २०८२/०८३ सालको लागि प्रस्तुत नीति कार्यक्रम अनुसार शैक्षिक सत्र २०८१ को एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई जिपिए अनुसार नगद पुरस्कार दिने भएको हो ।

गाउँपालिकाले ४ जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई १ लाख ५१ हजार प्रदान गर्नेछ । यस्तै, ३.९९ देखि ३.९० जीपीए ल्याउने विद्यार्थीले ५१ हजार प्राप्त गर्नेछन् भने ३.८९ देखि ३.८० जीपीए हासिल गर्ने विद्यार्थीहरूलाई २५ हजार पुरस्कार दिइने गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन गर्न र भविष्यमा अझ राम्रो नतिजा ल्याउन प्रेरणा दिन पुरस्कार योजना ल्याइएको उनले बताए । यो योजनाले विद्यार्थीहरूमा सकारात्मक प्रतिस्पर्धा सिर्जना गर्ने विश्वास लिइएको उनको भनाइ छ ।