राजनीति

इजरायल र इरानको भ्रमण नगर्न अपिल



काठमाडौँ, ५ असार । नेपाल सरकारले वर्तमान समयमा इजरायल र इरानको भ्रमण नगर्न अपिल गरेको छ ।

बुधबार सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले यात्रासम्बन्धी जानकारी अर्थात् ट्राभल एड्भाइजरी जारी गर्दै इजरायल र इरानबिचको द्वन्द्वका कारण सृजित घटनाक्रमलाई ध्यानमा राख्दै सरकारले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक अवस्थामा बाहेक ती दुई मुलुकको भ्रमण नगर्न अपिल गरेको हो । 

त्यहाँ रहेका नागरिकलाई सुरक्षित रहन, समुदायमा सम्पर्कमा रहन, सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी सूचना, जानकारी तथा निर्देशन पालना गर्न र तोकिएको समय र स्थानबाहेक घरबाट बाहिर ननिस्कन अपिल गरेको प्रस्ट पारेको छ । सरकारले द्वन्द्वग्रस्त इजरायल र इरानमा रहनुभएका नेपाली नागरिकलाई आफ्नो सुरक्षालाई उच्च प्राथमिकतामा राखी तोकेको समय र स्थानमा बाहेक घर वा बङ्कर तथा सेल्टरबाट बाहिर ननिस्कन भनेको छ । त्यहाँस्थित नेपाली समुदाय र नेपाली राजदूतावाससँग नियमित रूपमा सम्पर्कमा रहँदै परराष्ट्र मन्त्रालय र राजदूतावासले जारी गरेका सूचना तथा यात्रासम्बन्धी जानकारी नियमित रूपमा हेर्न पनि भनिएको छ । आपत्कालीन सङ्कट आइपरेमा उद्धार तथा सहायतासँगै पहुँचमा रहन परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र नेपाली राजदूतावास, तेल अबिबको वेबसाइटमा राखिएको विवरण भर्न सुझाइएको छ ।