काठमाडौँ, ५ असार । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेको छ ।
पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतको हल्द्वानीबाट बुधबार फर्केका बर्दियाका एक जनाको कोरोना भाइसका कारण अवस्था गम्भीर भएको पाइएपछि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको आइसुलेसनमा राखेर उपचार भइरहेको छ । सीमानाकामा रहेको हेल्थडेस्कमा एन्टिजेन परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको थियो ।
“भारतबाट फर्केका बिरामीमा उच्च ज्वरो, श्वासप्रश्वास र रुघाखोकीको समस्या थियो,” सुदूरपश्चिम प्रदेश प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले भने, “एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आएपछि अस्पतालको ‘आइसुलेसन’मा राखेर उपचार भइरहेको छ ।”
सो नाका हुँदै फर्केका शङ्कास्पद पाँच जनाको एन्टिजेन परीक्षणको कार्य गरिँदा एक जनाको नतिजा मात्रै पोजेटिभ आएको छ ।
महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले आइसुलेसनमा राखेर उपचार भइरहेका बिरामीको स्वास्थ्य अवस्थामा बिहानको तुलनामा सुधार आएको बताए । उनले पुनः कोरोना भाइसको सङ्क्रमण बढ्न थालेपछि आइसुलेसनमा राखेर उपचार भइरहेका बिरामी पहिलो भएको बताए ।
प्रतिक्रिया दिनुहोस्