भोजपुर, ५ असार । भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षण थालिएको छ ।
यहाँ रेड पान्डा पाइने स्थानको छनोट गरेर संरक्षणको काम गरिएको हो । रेड पान्डा पाइने चार वटा सामुदायिक वनमा ४८ वटा क्यामेरा जडान गरेर रेड पान्डाको अवस्थाको विषयमा जानकारी लिने काम भइरहेको रेड पान्डा नेटवर्कले जनाएको छ ।
रेड पान्डाको संरक्षणको लागि यहाँको टेम्केमैयुङ–१ सावामा रहेको भुरुखेक र महाभिर वाल्वानी सामुदायिक वनमा आठ हजार मालिङ्गो बिरुवा रोपन गरिएको डिभिजन वन कार्यालय भोजपुरका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिए । रेड पान्डासँगै अन्य वन्यजन्तुको संरक्षणको लागि यी क्षेत्रमा तीन वटा ठूला पोखरीसमेत निर्माण गरिएको उनको भनाइ छ ।
राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार रेड पान्डाको चोरी, सिकारी गरेको खण्डमा रु एक लाखदेखि पाँच लाखसम्म जरिवाना, एकदेखि दश वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस्