समाचार

पूर्वी नवलपरासीमा बाढीले बस बगायो, यात्रुको सकुशल उद्धार



काठमाडौँ, ६ असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले यात्रुबाहक बस बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार तीन बच्चसहित ३८ जना यात्रु बोकेर पूर्वबाट बर्दिया तर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस विहीबार राति करिब ११ बजेतिर बगाएको हो । बसमा सवार सबै यात्रुहरुको सकुशल उद्धार गरिएको छ ।

बाढीले बगाएको बस करिब एक किलोमिटर तल फेला परेको प्रहरीले बताएको छ । बस अहिले भर्खर फेला परेको छ ।

गत पुसमा भारतीय ओभरलोड ट्रकले पुल भाँचिएपछि यो सडकमा डाइर्भसन बनाइएको थियो । तर वर्षासँगैको बाढीले पटक–पटक डाइभर्सन बगाउँदा यातायात अवरुद्ध हुने गरेको छ । डाइभर्सन बगाएकाले यातायात अवरुद्ध छ । दुम्किबासबाट दाउन्नेतर्फको सडक हिलाम्य भएकाले गाडीहरू उकालो चढ्न नसकेर बिच बाटोमै अलपत्र छन् ।