अर्थ

विकासशील मुलुकमा हुने स्तरोन्नतिले समृद्धिलाई सघाउँछ: अर्थमन्त्री पौडेल



काठमाडौँ, ६ असार । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा हुने स्तरोन्नतिले नेपालको समृद्धिको यात्रामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । सन् २०२६ नोभेम्बरमा नेपाल अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा हुने स्तरोन्नति हुदै छ ।

राष्ट्रिय योजना आयोगले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘अतिकम विकसित मुलुकको समूहबाट विकासशील समूहमा स्तरोन्नति : चुनौती र आगामी योजना’ विषयक दुईदिने राष्ट्रिय कार्यशालामा अर्थमन्त्री पौडेलले विकासशील मुलुकमा नेपालको स्तरोन्नतिबाट सिर्जना हुने अवसरका क्षेत्र पहिचान र तिनको दिगो व्यवस्थापनका लागि कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा लाग्न राष्ट्रिय योजना आयोग र विषयगत मन्त्रालयलाई आग्रहसमेत गरे । स्तरोन्नतिलाई दिगो बनाउन सोह्रौं योजना र अन्य क्षेत्रगत नीतिहरूमा आन्तरिकीकरण तथा अन्तरआबद्धता गर्दै कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता उनले औंल्याए ।

उनले भने, ‘स्तरोन्नतिपछि अन्तर्राष्ट्रिय व्यापार, विकास सहायता परिचालन, दिगो विकास लक्ष्यको कार्यान्वयन, सार्वजनिक तथा निजी क्षेत्रको प्राविधिक क्षमता अभिवृद्धि, विपद् तथा जलवायु परिवर्तन व्यवस्थापनलगायत आर्थिक र प्राविधिक विषयमा थप दायित्व सिर्जना हुनेछ । यसका निमित्त तीनै तहका सरकार, निजी क्षेत्र, गैरसरकारी क्षेत्र र विकास साझेदारबीच समन्वय र सहकार्य जरुरी छ ।’

दिगो विकास र नेपालले लिएको विकासका लक्ष्य प्राप्तिका लागि ठूलो मात्रामा लगानी आवश्यक रहेको उनको भनाइ छ । विदेशी लगानीको आप्रवाह तथा विकास सहायता परिचालनमा देखिएको प्रवृत्ति र संरचनागत समस्यालाई दृष्टिगत गरी सरकारले विकास वित्तको आवश्यकता पूरा गर्न वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक संसद्मा पेस गरेको उनले प्रस्ट्याए ।