काठमाडौँ, ७ असार । चालु आर्थिक वर्षको ११ महिनामा निर्यात एक खर्ब रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको ११ महिनामा १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँको वस्तु निर्यात गरेको भन्सार विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँको वस्तु निर्यात भएको छ ।
गत आर्थिक वर्षको तुलनामा निर्यात ७७.७७ प्रतिशतले बढेको विभागले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा पहिलो पटक २ खर्ब ३ करोडको वस्तु निर्यात भएको थियो । त्यसयता अहिले (२०८१/८२ को ११ महिनामा) निर्यात २ खर्ब ४७ अर्ब रुपैयाँ नाघेको विभागले जनाएको छ । खानेतेलका कारण समग्र निर्यात व्यापार बढेको हो । निर्यात बढ्दा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा घटेको विभागको तथ्यांकले देखाउँछ ।
गत आर्थिक वर्षको ११ महिनामा कुल व्यापारमा निर्यातको हिस्सा ८.७४ र आयातको हिस्सा ९१.२६ प्रतिशत थियो । चालु आर्थिक वर्षमा निर्यातको हिस्सा बढेको छ भने आयातको हिस्सा घटेको छ । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३.०८ र आयातको हिस्सा ८६.९२ प्रतिशत छ ।
विभागका अनुसार डिजेल, भटमासको कच्चा तेल, पेट्रोल, खाना पकाउने ग्यासलगायत वस्तु सबैभन्दा बढी आयात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म डिजेल मात्रै १ खर्ब १५ अर्ब ५५ करोड १ लाख रुपैयाँको आएको छ । कच्चा भटमासको तेल ९५ अर्ब ७२ करोड ६१ लाख, पेट्रोलको ५८ अर्ब ५८ करोड ९० लाख र खाना पकाउने ग्यास ५७ अर्ब ३६ करोड ७७ लाख रुपैयाँको आयात भएको छ ।
चालु आर्थिक वर्षको ११ महिनाको कुल आयात व्यापारमा कच्चा भटमास, सनफ्लावर र पाल्म तेलको हिस्सा ८ प्रतिशत छ । निर्यात हुनेमा प्रशोधित भटमासको तेल, सनफ्लावरको बीउ र तेल, गलैंचा, अलैंचीलगायत छन् । प्रशोधित भटमासको तेल ९३ अर्ब ५१ करोड ७१ लाख, सनफ्लावरको बीउ र तेल ११ अर्ब ३३ करोड ८९ लाख, गलैंचा ९ अर्ब ७८ करोड १० लाख र अलैंची ७ अर्ब १९ करोड ७ लाख रुपैयाँको निर्यात भएको छ ।
निर्यात बढ्नुको मुख्य कारणमा प्रशोधित भटमासको तेल छ । यसले कुल निर्यातको ३७.७७ प्रतिशत हिस्सा ओगटेको छ । प्रशोधित भटमास तेलसँगै प्रशोधित सनफ्लावर तेल पनि निर्यात बढ्नुको कारण हो । कान्तिपुर
प्रतिक्रिया दिनुहोस्