राजनीति

योगले मानव समुदायलाई एकतामा बाँध्ने सन्देश बोकेको छ : उपराष्ट्रपति यादव



काठमाडौँ, ७ असार । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नियमित योग अभ्यासले मानसिक तनाव न्यूनीकरण, सकारात्मक विचारधाराको विकास तथा अन्तरमनको शान्ति स्थापनामा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभएको छ ।

शनिबार अन्तर्राष्ट्रिय योग दिवस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायू, सुख र शान्तिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो । यसैगरी, उहाँले शारीरिक व्यायाम, श्वासप्रश्वासको नियन्त्रण, ध्यान तथा नैतिक अनुशासनलाई आधार मानेर विकास गरिएको योग प्रणालीले हाम्रो दैनन्दिन जीवनलाई आध्यात्मिक, भावनात्मक र मानसिक दृष्टिले समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । आजको युगमा बढ्दो मानसिक तनाव, शारीरिक निस्क्रियता र जीवनशैलीजन्य समस्याहरू समाधान गर्न योग प्रभावकारी उपायको रूपमा स्थापित भइसकेको छ ।

उहाँले भन्नुभयो, ‘‘अन्तर्राष्ट्रिय योग दिवस, शारीरिक स्वास्थ्य प्रवर्धनको उत्सवसँगै हाम्रो सांस्कृतिक सम्पदाको सम्मान, संरक्षण र प्रचार–प्रसार गर्ने अवसर पनि हो । योगले जात, धर्म, भाषा, संस्कृति वा सीमाभन्दा माथि उठेर समस्त मानव समुदायलाई एकतामा बाँध्ने सन्देश बोकेको छ । यसले विश्वशान्ति, सहिष्णुता र सहकार्यको भावनालाई बलियो बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदछ ।’’