विश्व

आणविक कार्यक्रम रोकिन्न: इरान



एजेन्सी, ८ असार । इरानी राष्ट्रपति मसोउद पेजेश्कियानले देशको आणविक कार्यक्रम कुनै पनि हालतमा रोक्न नसकिने स्पष्ट पारेका छन् ।

उनले इरानले नागरिक प्रयोजनका लागि आणविक प्रविधि प्रयोग गर्ने अधिकार नछाड्ने बताएका हुन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंसँगको टेलिफोन वार्तामा पेजेश्कियानले इरान आफ्नो आणविक कार्यक्रमबारे विश्वसनीयता कायम गर्न आवश्यक ग्यारेन्टी दिन तयार रहेको जनाएका छन् ।

तर धम्की वा युद्धको डर देखाएर इरानलाई पछाडि हट्न बाध्य पार्न नसकिने उनको भनाइ थियो । इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार, पेजेश्कियानले इजरायलका आक्रमण जारी रहे भने इरानको प्रतिक्रिया अझै ‘ध्वंसात्मक’ हुने चेतावनी पनि दिए ।

उनले शान्तिपूर्ण आणविक कार्यक्रमका विषयमा विश्वास निर्माण गर्न संवाद र सहकार्य गर्न इरान तयार रहेको बताएका छन् ।