राजनीति

माओवादीद्वारा भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति गठन गर्न माग



काठमाडौँ, ८ असार । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन् ।

आज प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा पाण्डेले भिजिट भिसा प्रकरण राष्ट्रिय समस्या भएकाले माओवादीसँग भएको दुईबुँदे सहमतिलाई कार्यान्वयन गर्न माग गरे ।


उनले एक महिनाभित्र छानबिन समिति गठन गर्ने प्रतिबद्धता गृहमन्त्रीले रोस्ट्रमबाटै गरेकाले पनि ढिलाइ नगर्न आग्रह गरे । पाण्डेले भिजिट भिसा प्रकरणमा दुईबुँदे सहमति गरेपछि पनि अहिलेसम्म समस्या समाधान नभएको धारणा राखे ।

यसअघि, भिजिट भिसा प्रकरणका कारण निरन्तर सदन अवरुद्ध भएपछि सत्तापक्ष र माओवादीबीच दुईबुँदे सहमति भएको थियो ।