काठमाडौँ, ९ असार । नेपालभर डेंगी संक्रमितको संख्या १ हजार ४ सय नाघेको छ ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार डेंगी संक्रमितको संख्या ६ महिनामा (जनवरीयता) १ हजार ४ सय ३ पुगेको छ भने संक्रमण ७३ जिल्लामा फैलिएको छ ।
रसुवा, मनाङ, हुम्ला, डोल्पाबाहेक बाँकी ७३ जिल्लामा डेंगी संक्रमण पुष्टि भएको छ । गत साता मात्र थप ४० जनामा संक्रमण पुष्टि भएको छ । डेंगी संक्रमित सात प्रदेशमध्ये सबैभन्दा बढी बागमतीमा ३ सय ७१ जना, कोशीमा २ सय ९९, गण्डकीमा २ सय ५१, लुम्बिनीमा २ सय ४५, सुदूरपश्चिममा १ सय ८४ जना, कर्णालीमा ३२ जना र मधेशमा २१ जना रहेको ईडीसीडीले जनाएको छ । काठमाडौँमा सबैभन्दा बढी १ सय ५६ जना संक्रमित भेटिएका छन् ।
काठमाडौँको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार डेंगी पुष्टि भएर भर्ना भएका ६ जना बिरामी उपचार गराएर फर्किएका छन् ।
अस्पतालका निर्देशक डा.युवानिधि बसौलाले ओपीडीमा आउने बिरामीमध्ये दैनिक एक/दुई जनामा संक्रमण देखिएको बताए । ‘हरेक दिन एक/दुई जना डेंगी संक्रमित उपचारका लागि आउने गरेका छन्, सँगै मौसमी रुघाखोकीको उपचार गराउन आउने बिरामीको संख्या पनि त्यस्तै छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्