काठमाडौँ, १० असार । इरानको आक्रमणपछि कतारको गृह मन्त्रालयले देशको सुरक्षा सामान्य रहेको बताएको छ ।
मन्त्रालयलाई उद्धृत गर्दै अलजजीराले अवस्था ‘स्थिर’ रहेको भन्दै चिन्ता नलिन आग्रह गरेको जनाएको हो । सञ्चारमाध्यमका अनुसार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा अफवाहमा नपर्न र गलत सूचना नफैलाउन विशेष ध्यान दिन अनुरोध गरिएको छ । साथै, आधिकारिक स्रोतबाट बाहिर नआएको कुनै पनि सूचना सेयर नगर्न देशवासीलाई आग्रह गरिएको छ ।
मन्त्रालयले नागरिक तथा विदेशी बासिन्दाहरूको सुरक्षाको लागि आवश्यक सबै उपायहरू अपनाइने र सार्वजनिक जीवनलाई सामान्य अवस्थामा राखिने प्रतिबद्धता जनाएको छ । यसअघि कतारको रक्षा मन्त्रालयले अल उदैद एयर बेसलाई लक्षित गरी प्रक्षेपण गरिएको इरानी मिसाइल आक्रमण त्यहाँको हवाई प्रतिरक्षा प्रणालीले सफलतापूर्वक अवरोध गरेको जनाएको छ। मन्त्रालयले उक्त आक्रमणबाट कुनै पनि मानवीय क्षति वा घाइते नभएको स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्