काठमाडौँ, ११ असार । डिभिजन वन कार्यालय नवलपुरले आजदेखि विभिन्न प्रजातिका बिरुवा वितरण सुरु गरेको छ । डिभिजन वन कार्यालय नवलपुरको कावासोतीस्थित नर्सरीमा निःशुल्क वितरण सुरु गरेको हो ।
डिभिजन वन कार्यालय नवलपुरले वार्षिक स्वीकृत कार्यक्रमअनुसार उत्पादन गरेको बिरुवा वितरण सुरु गरेको कार्यालयका सूचना अधिकारी वन अधिकृत शिशिर लम्सालले जानकारी दिए ।
उनले भने, “जिल्ला वन पैदावार आपूर्ति समिति, गण्डकी प्रदेश सरकारको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत, जडीबुटी विकास कार्यक्रम र बहुवर्षीय बिरुवा उत्पादन गरी चार वटा कार्यक्रमअन्तर्गत बिरुवा उत्पादन गरेका छौँ”, “यस वर्ष एक लाख १५ हजार बिरुवा उत्पादन गरेका छौँ र गत वर्षको बहुवर्षीय उत्पादनबाट १० हजार बिरुवा मौज्दात थियो ।”
गत वर्ष र यस वर्षगरी वनको नर्सरीमा एक लाख २५ हजार बिरुवा भए पनि यस वर्ष बहुवर्षीय बिरुवा उत्पादन कार्यक्रमका १० हजार बिरुवा आगामी वर्षमात्रै वितरण गरिने लम्सालको भनाइ छ । “यस जिल्लामा वन क्षेत्र ६० प्रतिशत हाराहारीमा रहेका कारण वन क्षेत्रमा वृक्षारोपण गर्नुपर्ने अवस्था छैन”, उनले भने, “जिल्लामा सौन्दर्य प्रदान गर्ने बिरुवा र डालेघाँसको बिरुवाको बढी माग हुने भएकाले हामीले सोहीअनुसार बिरुवा उत्पादन र निःशुल्क वितरण सुरु गरेका छौँ ।”
वनको नर्सरीमा विशेषगरी कपुर, गुलमोहर, वीरेन्द्र फूल, म्याङ्गोस्टिक, धुपी जस्ता सौन्दर्य प्रदान गर्ने बिरुवासहित टिमुर, कुरिलो, हर्रोबर्रो, चिउरी, अमलासहितका औषधीय बिरुवा उत्पादन गरिएको लम्सालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्