Banner News

बजेट कार्यान्वयनका आधार छन् : अर्थमन्त्री पौडेल



काठमाडौँ, १३ असार । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनलाई लिएर आशङ्का र चिन्ता व्यक्त गरिरहनुभएका बेला बजेट कार्यान्वयन हुन सक्ने आधारसहित ल्याइएको बताउनुभएको छ । 

राष्ट्रिय सभामा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि सैद्धान्तिक छलफलमा भाग लिने सदस्यले बजेट निर्माणका लागि स्रोतको अभाव हुने र सुनिश्चित भएको स्रोतको समेत कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । 

अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनलाई लिएर चिन्ता व्यक्त गरिनु जायज रहे पनि कार्यान्वयन हुन सक्ने आधारसहित आएको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले सत्तापक्षको आलोचनाबाट प्रतिपक्षी खुसी हुनुपर्नेमा झनै आलोचना गरेकामा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सत्तापक्षलाई काखी च्यापेर बजेट नआउनु भनेको समानता र सन्तुलित रूपले बजेट विनियोजन गरिएको बुझ्नु पर्छ । यो बजेटले सत्तापक्ष र प्रतिपक्ष नहेरी स्रोतको सही विनियोजनलाई ध्यान दिएर परिचालन गरेको छ ।”

बजेट कार्यान्वयनको विषयमा उहाँले विगतको अनुभवले बजेटको कार्यान्वयन नहुने र बजेटले गरेको अपेक्षा पूरा नहुने शङ्का जायज रहे पनि त्यसप्रति मन्त्रालय सचेत रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले परिचालन र व्यवस्थापन गर्न सकिने स्रोत मात्रै अनुमान गरिएको र यसले कार्यान्वयनमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो ।  उहाँले भन्नुभयो, “बजेट कार्यान्वयनसँग सम्बन्धित मापदण्ड, कार्यविधि र निर्देशिकालाई अद्यावधिक गर्दै छौँ ।”