काठमाडौँ, १३ असार । नेपालमा उत्पादित आँपको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले तीन दिने ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने भएको छ ।
तराई–मधेसमा उत्पादन गरिएका नेपाली आँपहरूको विविधता, स्वाद र मूल्य शृङ्खला प्रवर्द्धनका लागि आज असार १३ देखि १५ सम्म आयोजना गर्न लागिएको हो ।
काठमाडौँ अर्ग्यानिक, एग्री नेपाल, अर्थियर एप र युबी होल्डिड्सको सहकार्यमा महोत्सव आयोजना हुनेछ । महोत्सवमा नेपाली स्वाद, रङ र आँप संस्कृतिको अनुपम सङ्गम अनुभव गर्न सकिने आयोजकले जनाएको छ ।
काठमाडौँको लाजिम्पाटस्थित वालनट बिस्ट्रोमा आयोजना हुने उद्घाटन कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी सहभागी हुने आयोजकले जनाएको छ । महोत्सवको मुख्य उद्देश्य नेपाली आँपको पहिचान फैलाउने, स्थानीय कृषकको मूल्य शृङ्खला मजबुत बनाउने र प्राकृतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच बढाउने रहेको काठमाडौँ अर्ग्यानिकका प्रमुख सञ्चालन अधिकृत निशा तौजले जानकारी दिए ।
कार्यक्रमको आकर्षणका रूपमा १० भन्दा बढी प्रजातिका आँप प्रदर्शनीमा राखिनेछन् । पाँच भन्दा बढी प्रजातिका आँपहरू प्रत्यक्ष किसानबाट किनमेल गर्न सकिने छ । माल्दा, दशहरी, जरदा, किसानबोग, कलकत्तिया जातका आँप किसानबाट प्रत्यक्ष किन्न सकिने तौजले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्