अर्थ

११ महिनामा ३९ अर्बको धानचामल आयात: दोब्बर रकमले बढ्यो



काठमाडौँ, १४ असार । कृषिप्रधान देश नेपालको स्थानीय उत्पादनले माग धान्न नसक्दा ११ महिनामा झन्डै ३९ अर्ब रुपियाँ बराबरको धानचामल आयात गरेको छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ ११ महिनामा (साउन–जेठ) ३८ अर्ब ९४ करोड रुपियाँको धानचामल आयात भएको छ । गत वर्ष सो अवधिमा २१ अर्ब १२ करोड रुपियाँ बराबरको धानचामल आयात भएको थियो । यो वर्ष झन्डै दोब्बर रकमले धानचामलको आयात बढेको तथ्याङ्कले देखाएको छ । चालु आवको ११ महिनामा सबैभन्दा धेरै २१ अर्ब १५ करोड रुपियाँ २६ करोड १९ लाख १९ हजार केजी धान आयात भएको छ । गत वर्ष सो अवधिमा १२ अर्ब ४३ करोड रुपियाँ बराबरको १५ करोड ३७ लाख आठ हजार केजी धान आयात भएको थियो । 

यस्तै चालु आवमा १७ अर्ब ७८ करोड ५७ लाख रुपियाँ बराबरको पाँच करोड ७३ लाख ६६ हजार केजी चामल आयात भएको छ । गत वर्ष सो अवधिमा आठ अर्ब ६९ करोड १६ लाख रुपियाँको दुई करोड ६९ लाख सात हजार केजी चामल आयात भएको थियो । 

यस वर्ष धानचामल आयातमा दोब्बरले बढेको तथ्याङ्कले देखाएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा ठुलो परिमाणमा आयात हुने गरेको हो । मुलुकमा धानको उत्पादन बढे पनि आयात पनि बढ्दै गएको तथ्याङ्कले देखाएको छ । कृषि विभागका अनुसार मुलुकमा वार्षिक ७० लाख मेट्रिक टन धानको माग रहेकोमा १० लाख मेट्रिक टन अपुग छ । हाल एक लाख १० हजार हेक्टर क्षेत्रफलमा छदेखि सात लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो । धानको उत्पादकत्व प्रतिहेक्टर ४.१९ मेट्रिक टन रहेको छ । 

धानचामलको आयात बढिरहेका बेला धानको बिउका लागि समेत परनिर्भर बन्नु परेको छ । बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार चालु आवको ११ महिनामा एक अर्ब २० करोड रुपियाँ बराबरको तीन हजार मेट्रिक टन धानको बिउ आयात भएको छ ।