Banner News

कृषिलाई आधुनिक पेसाका रूपमा विकास गर्न नीतिगत सुधार गर्नुपर्छ: सभामुख घिमिरे



काठमाडौँ, १५ असार ।  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक, व्यावसायिक र आकर्षक पेसाका रूपमा विकास गर्न नीतिगत सुधारसहित उत्पादन वृद्धि र आत्मनिर्भरतातर्फ ध्यान दिन आह्वान गरेका छन् । 

२२औँ राष्ट्रिय धान दिवसका अवसरमा आज (आइतबार) शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले भनेका छन्, “नेपालको अधिकांश खेती अझै पनि अकासे पानीमा निर्भर छ । सिँचाइ सुविधाको अभाव, समयमा मल नपाइने समस्या र उन्नत बीउको अभावले गर्दा उत्पादन क्षमतामा ठूलो प्रभाव परेको छ ।”

उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने हेतुले २०६१ सालदेखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ । यस वर्ष ‘धानबालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता’ नारासहित राष्ट्रिय धान दिवस मनाइरहेका छौँ । किसान र सरोकारवाला सम्बद्ध पक्षहरूलाई सचेत तथा जागरूक बनाउने सन्देशसहित देशलाई खाद्यान्नमा आत्मनिर्भर र खाद्य सुरक्षित हुने दिशामा काम गर्न अभिप्रेरित गर्नु यस वर्षको नाराको सन्देश रहेको छ ।