काठमाडौँ, १९ असार । त्रिभुवन विश्वविद्यालयमा ३४ दिनदेखि जारी तालाबन्दी खुलाउन सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले तालाबन्दी नगर्न/नगराउन, ताला लगाएको भए खोल्न/खोलाउन गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी वृत्त कीर्तिपुरका नाममा अन्तरिम आदेश जारी गरेको हो । त्रिविको उपकुलपति, रेक्टर, रजिस्ट्रार, सेवा आयोगलगायत कार्यालयमा भएको तालाबन्दी खुलाउन माग गर्दै अधिवक्ता महेश भट्टराईलगायतले सर्वोच्चमा मंगलबार रिट दर्ता गराएका थिए ।
रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रहरी वृत्त कीर्तिपुर, उपकुलपति, रजिस्ट्रार कार्यालयलाई विपक्षी बनाइएको थियो । त्रिवि आंशिक प्राध्यापक केन्द्रीय समितिका अध्यक्ष गोकुल लेछवा लिम्बू, सह–अध्यक्ष राजेन्द्र आचार्य, महासचिव वैकुण्ठ थापा र अखिल क्रान्तिकारी त्रिविका कार्यवाहक अध्यक्ष शिवराज भट्टलाई पनि विपक्षी बनाइएको थियो ।
माघमा सकिएको स्नातक तहको भर्ना खुलाउनुपर्ने माग राख्दै आएका शंकरदेव, सरस्वती, पब्लिक युथ, सानोठिमी क्याम्पसका नेविसंघमा आवद्ध १४/१५ जना स्ववियु पदाधिकारीले गत १४ जेठमा उपकुलपति कार्यालय तोडफोड गर्दै तालाबन्दी गरेका थिए । आंशिक प्राध्यापक संघले ३० जेठमा उपकुलपतिसहित रजिस्ट्रार, रेक्टर र सेवा आयोग कार्यालयमा तालाबन्दी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्