काठमाडौँ, १९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित संवैधानिक निकायका ३२ पदाधिकारीलाई काम गर्न रोक लगाउन परमादेश मागसहित सर्वोच्च अदालतमा निवेदन पुगेको छ ।
आज अधिवक्ताहरू दिपक अधिकारी, यज्ञमणि न्यौपाने, टीकाप्रसाद ढकाल र भोजराज पाण्डेले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार र ३२ संवैधानिक पदाधिकारीलाई विपक्षी बनाउँदै सर्वोच्चमा निवेदन दिएका हुन् ।
निवेदकले बुधबार मध्यराति सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसलामा ३२ जनाको नियुक्ति अवैधानिक भनेर बहुमत पुगेको दाबी गर्दै कामकारबाहीमा रोक लगाउन माग गरेका हुन् ।
बुधबार मध्यराति सर्वोच्चले गरेको फैसलामा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नहकुल सुवेदी रिट जारी गर्नुपर्ने पक्षमा रहेको तथा न्यायाधीशहरू मनोजकुमार शर्मा र कुमार चुडाल २०७७ मङ्सिर ३० गतेको संवैधानिक परिषद्को सिफारिसबमोजिमको नियुक्ति संविधानसम्मत रहेको पक्षमा देखिएकोमा अर्का न्यायाधीश सपना प्रधान मल्लको राय पनि नियुक्ति बदरकै पक्षमा देखिएकाले ३२ जनालाई तत्काल काम गर्न रोक लगाउन माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्