राजनीति

काठमाडौँ महानगरपालिकाद्वारा खानेपानीमा निगरानी : ६३ वटा जार जफत



काठमाडौँ, २० असार । काठमाडौँ महानगरपालिकाले जार मार्फत बिक्री हुने खानेपानीको निगरानी बढाएको छ ।

महानगर प्रहरीका अनुसार आज बिहानैदेखि अभियान नै चलाएर खानेपानीको जारमा अनुगमन गरिरहेको हो ।  

बालाजु माछा पोखरी चोकमा चेक प्वइन्ट राखी महानगर प्रहरी बल र कृषि तथा पशुपन्छी विभागको संयुक्त टोली अनुगमनले गर्दा ६३ वटा पानीको जार जफत गरेको छ । काठमाडौँ महानगरभित्र छिर्न लागेका २२ वटा सवारी साधनबाट ६३ वटा जारहरू जफत गरिएको नगर प्रहरीले जनाएको छ । 

महानगर प्रहरीले भनेको छ, ‘हामीले महानगरभित्र छिर्ने मुख्य नाकाहरूमा जारको पानी बोक्ने गाडीहरूमा निगरानी बढाएका छौँ । कुच्चिएको, अपारदर्शी, टुटफुट भएको र लेबल प्रस्ट नभएको पानीको जार तत्काल जफत गरेर नष्ट गरिरहेका छौँ,’ ।