Banner News

सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ: मन्त्री भण्डारी



डडेल्धुरा, २१ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार जनपक्षीय काममा निरन्तर लागिपरेको भए पनि चौतर्फी प्रहार भइरहेको बताउनुभएको छ ।

डडेल्धुरामा शुक्रबार कार्यकर्तासँगको भेटघाटमा मन्त्री भण्डारीले सरकारको  जनपक्षीय काम देखेर अत्तालिएकाहरूले वर्तमान सरकारप्रति विरोध गरिरहेका बताउनुभयो ।

मन्त्री भण्डारीले हालको राष्ट्रिय राजनीति, सरकारको प्राथमिकता, उद्योग तथा आपूर्ति क्षेत्रका विषयमा सरकारको नीति तथा योजनाबारे प्रकाश पार्नुभएको थियो । उहाँले विशेषगरी सुदूरपश्चिम प्रदेशमा आर्थिक विकास, रोजगारी सृजना र औद्योगिक पूर्वाधार विस्तारमा सरकारले चालेका कदमहरूको जानकारी दिनुका साथै स्थानीय तहका कार्यकर्ताको भूमिका पनि महत्त्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “वर्तमान सरकार जनआकाङ्क्षा पूरा गर्न लागिपरेको छ । यो संयुक्त सरकार हो, संयुक्त सरकारबाट एकल सरकारको जस्तो अपेक्षा पूरा नहुन सक्छन् । तर सरकारले सबै क्षेत्रलाई समेट्ने प्रयास गरेको छ ।”