पाल्पा, २१ असार । पाल्पाका किसानहरु पछिल्लो समय खेती लगाउने सयममा उन्नत जातका बीउप्रति आकर्षित भएपछि रैथाने बाली सङ्कटमा पर्दै गएका छन् ।
उत्पादन बढी हुने र छिटो फल्ने हुँदा यहाँका किसान परम्परागत रैथाने बीउ छोडेर उन्नत जातका बीउ (हाइब्रिड) प्रति आकर्षित भएका हुन् ।
तानसेनको दमकडाकी सीतादेवी गौतमले पहिले–पहिले धान, मकै, प्याज, मूलाजस्ता कृषि उपजको रैथाने बीउ घरमै उत्पादन गर्ने गर्थिन्। उनकोमा बीउ लिन जिल्लाका विभिन्न ठाउँबाट किसान त्यहाँ पुग्ने गर्ने तर हिजो आज भने बजारमा नै पाइने बीउ ल्याएर किसानले लगाउन थालेपछि भने गौतम कहाँ बीउ लिन कोही पनि आउँदैनन् । किसानले उन्नत जातका बीउ ल्याएर लगाउन थालेपछि आफूले अहिले बीउ घरमा राख्न छोडेको उनी बताउँछिन् ।
बर्खामा धान खेतीले भरिभराउ देखिने माथागढीका देउगीर, झडेवा, चिदीपानी, पूर्वखोलाका जल्पा, रिङ्नेरहजस्ता ठाउँमा मङ्सिर लाग्दा नलाग्दै खनजोत गरेर ठिकठाक हुन्थ्यो । कतै मुला, व्याजका बिरुवा त कतै सेतो केराउ लगाउन किसानलाई भ्याइनभ्याइ हुन्थ्यो । अहिले भने यहाँका खेत किसानका लागि बिरानो जस्तै बनेका छन् ।
रैथाने बीउ बेचेरै किसानको गुजारा चलेको थियो । पछिल्लो समय हाइब्रिडले बजार ओगटेपछि यहाँको स्थानीय जातको बीउ उत्पादन हुन छाडेको छ । बीउ किन्न किसानको घरदैलोमै पुग्ने व्यापारी हाइब्रिडमा आकर्षित हुन थालेपछि उत्पादन गर्न छाडेको किसान बताउँछन् । स्थानीय जातभन्दा हाइब्रिड सस्तो भएपछि खेती छाडेको देउगीरका किसान जीवन रायमाझी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्