झापा, २१ असार । झापामा डेंगु संक्रमणबाट एकजना बालिकाको मृत्यु भएको छ ।
शिवसताक्षी नगरपालिका निवासी सुमन राईकी ११ वर्षीया छोरी सुरविरा राईको डंगुका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाले जनाएको छ ।
उनलाई स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार झापाको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शुक्रबार बिहान ८ः२५ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
स्वास्थ्य कार्यालय झापाका डेंगु फोकल पर्सन युवनाथ बरालका अनुसार, चालु वर्षमा डेंगु संक्रमणबाट मृत्यु हुने सुरविरा पहिलो व्यक्ति हुन्। गत वर्ष डेंगुका कारण जिल्लामा दुई जनाको मृत्यु भएको थियो ।
बरालका अनुसार, अहिले जिल्लाभरि डंगुका ५५ जना संक्रमित उपचाररत् छन् । तीमध्ये बीएण्डसी अस्पतालमा ४८, दमकमा १ र गौरादहमा ६ जना उपचाररत छन् । संक्रमितमध्ये सबैभन्दा बढी बिर्तामोड क्षेत्रका रहेको जनाइएको छ ।
मनसुन सुरु भएसँगै जिल्लामा डेंगु संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्