काठमाडौँ, २१ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भए पनि भनेजति गर्न नसकिएको बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले कसैले देशमा खत्रा गरेको छ भनेर नपत्याउन सुझाव दिए ।
देशमा केही भएन भन्नेको कुरा पनि नपत्याउन उनले विद्यार्थीलाई आग्रह गरे । “कसैले यो देशमा खत्रा गरेको छ, भएको छ भनेर नपत्याउनुस्,” उनले भने, “तर, कसैले आएर यो देश बर्बाद भयो, झुर भयो भनेर पनि नपत्याउनुस् । दुईवटै रङ ।”
आफूले अध्ययन गरेर मात्र समर्थन र विरोध गर्न उनले सुझाव दिए । राम्रो गरेकामा धन्यवाद दिन र भनेजति गर्न नसकेकामा प्रश्न गर्न उनले आग्रह गरे । “यो देशमा केही राम्रो भएको छ । केही राम्रो गर्न सकिएको छैन,” उनले भने, “राम्रो गरेकोमा धन्यवाद भन्नुस् । गर्नुपर्नेजति राम्रो किन गरिनस् भनेर गाली पनि गर्नुस् ।”
विद्यार्थीलाई उनले नथाक्न, नभाग्न र नगल्न सुझाव दिए । “नथाक्नुस्, नभाग्नुस्, नगल्नुस् । अडिएर बस्नुस् । नयाँ कुरा सिक्नुस्, क्वेसन गर्नुस्,” उनले भने, “क्रिटिकल हुनुस्, रमाइलो पनि गर्नुस् ।”
प्रतिक्रिया दिनुहोस्