राजनीति

सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् : चन्द्र भण्डारी



काठमाडौँ, २१ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले निर्वाचनमा गठबन्धन गरेर गएकोमा सभापति शेरबहादुर देउवाप्रति व्यङ्ग्य गरेका छन् । 

आज कांग्रेस केन्द्रीय समिति बैठकमा बाेल्दै उनले सभापति देउवाले हँसिया धेरै बनाएकाले घाँस काट्न नसक्दा गाईभैँसी भोकै रहेको भन्दै गठबन्धन गरेकोप्रति व्यङ्ग्य प्रहार गरेका हुन् । 

उनले भने, ‘शेरबहादुर देउवा सभापतिजीले यति धेरै हँसिया बनाउनुभयो । ए बाबु, यो यतिको हँसिया किन बनाउनुभएको भन्दाखेरी हँसियाले घाँस काट्न सकेनन्,’ ‘त्यसकारण गाई, भैँसीहरू भोका भए यही हो अहिलेको समस्या ।’

कांग्रेसले जनताका काम नगरेकाले अहिले गाउँ गाउँमा कांग्रेसप्रति जनविश्वास नरहेको पनि भण्डारीले बताए । ‘काम गर्दिएको भए पो अगाडि बढ्न सक्थ्यो । उनले भने, ‘पद लिने, काम नगर्ने, त्यो सबै जिम्मेवारी सभापतिले लिनुपर्ने हो ख्याल गर्नुपर्दैन,’ ‘हामीले सही समयमा सही व्यक्तिलाई सही ठाउँमा जिम्मेवारी दिन सकेनौँ । अहिलेसम्मको निचोड मेरो विचारमा यही हो ।’