काठमाडौँ, २२ असार । नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान राजनीतिक परिदृश्यमा कांग्रेसले संवेदनशील र सक्रिय भूमिका निर्वाह गर्न नसकेको बताएका छन् ।
आज ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता साउदले ०८४ सालमा हुने भनिएको निर्वाचनका लागि पार्टी तयार नै नभएको बताए ।
उनले भने, ‘वर्तमान राजनीतिक परिदृश्यमा कांग्रेसले संवेदनशील र सक्रिय भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी सङ्गठन कमजोर बन्दै गएको छ ।’ ‘राजनीतिक दलहरूमा आक्रमण बढ्दै गएको छ। यो केवल दलहरूमा होइन, संविधानमाथि नै आक्रमण गर्ने प्रयास भइरहेको छ। यस्तो अवस्थामा नेपाली कांग्रेसले स्पष्ट आवाज उठाउनुपर्छ। हेर्दाहेर्दै ०८४ पनि नजिक आइसकेको छ । तर कांग्रेस त्यसका लागि तयारी अवस्थामा छैन। गैरकांग्रेस मतहरूसँगको दूरी पनि बढिरहेको छ, जुन हाम्रो मत घट्ने संकेत हो ।’
पार्टीभित्रको अनुशासन, गुटबन्दी र असमान व्यवहारप्रति असन्तुष्टि जनाउँदै साउदले अनुशासनका नाममा एक पक्षीय कारबाही भएको बताए । उनले पार्टीका शीर्ष नेताहरू देशभर घुमिरहे पनि सङ्गठन बलियो नबनेसम्म कांग्रेस सशक्त नबन्ने बताए । उनले पार्टीलाई समय अनुकूल अपडेट गर्दै गुटबन्दी अन्त्य गर्न र सङ्गठन मजबुत बनाउनेतर्फ तुरुन्त ध्यान दिन नेतृत्वलाई आग्रह समेत गरे।
प्रतिक्रिया दिनुहोस्