Banner News

केपी ओली र रमेश लेखकलाई पक्राउ गर्न दबाब, चारै सुरक्षा निकायका प्रमुखसहितको बैठक



काठमाडौँ, २१ असोज । जेन–जी आन्दोलनमा भएको दमनलाई लिएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब बढेपछि बालुवाटारमा मध्यरातिसम्म चारै सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीसँग उत्पन्न परिस्थितिबारे छलफल गरेकी हुन् ।

बालुवाटार स्रोतका अनुसार, कानुनी परिधिभित्र रहेर उनीहरूलाई पक्राउ गर्न सकिन्छ कि सकिँदैन भन्नेबारे छलफल भएको छ । सुरक्षा निकायका प्रमुखहरूसहित केही जेन–जी अगुवाले चाहिँ पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले जेन–जी प्रदर्शनमा राज्य पक्षबाट भएको बल प्रयोगबारे छानबिन गरिरहेका बेला पक्राउ गर्न नहुने सुझाव दिएका छन् ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार छानबिन प्रतिवेदन आउनुअघि नै सरकार पक्राउ गर्ने तहमा पुग्दा आयोगको काममा समेत ‘ओभरल्याप’ भएको सन्देश जान्छ भन्ने कुरा आएको छ । ‘अर्को अहिलेसम्म मौन रहेका दलहरूसमेत प्रतिवादमा उत्रिन सक्छन्, त्यसले अर्को रक्तपात मच्चाउन सक्छ,’ एक सुरक्षा प्रमुखले सुझाव दिएका छन्, ‘त्यसैले पक्राउ गर्नलाई हतार गर्नु हुँदैन ।’

प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालले पक्राउ गर्नलाई ‘कानुनी आधार के हुन सक्छ ?’ भन्ने जिज्ञासा राखेका छन् । ‘अहिलेको परिस्थितिमा सरकारलाई एउटा ब्रेक थ्रु चाहिएको कुरामा उहाँहरू सहमत हुनुहुन्छ तर पक्राउको विषयचाहिँ कानुनी दायरामा कसरी अट्छ भन्ने हो,’ एक उच्च सरकारी अधिकारी भन्छन् । बालुवाटार बैठकअघि गृहमन्त्री अर्याल नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग सिंहदरबारमा छलफल गरिरहेका थिए । पछि बालुवाटारबाट बोलाइएपछि उनीहरू त्यहाँ पुगेका थिए । पछि त्यहीँ राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई समेत बोलाइएको थियो ।