काठमाडौँ, २३ असोज । सिराहामा बसबाट खसेर सहचालकको मृत्यु भएको छ ।
आज बिहान धनगढीमाई नगरपालिका–९ जिरोमाइल नजिकै पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट जनकपुरधामतर्फ जाँदै गरेको बसबाट खसेर सहचालकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार ना.७ ख २६५ नम्बरको यात्रुवाहक बसका सहचालक लहान नगरपालिका–१ निवासी २१ वर्षीय पवनकुमार यादवको उपचारका क्रममा मृत्यु भएको हो । बसको पछाडिको चक्काले किचिँदा उनी गम्भीर घाइते भएका थिए ।
घाइते यादवलाई तत्कालै नजिकैको प्रादेशिक अस्पताल लहान पुर्याइए पनि बिहान ११ः५५ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
बसका चालक ४० वर्षीय लक्ष्मी महतोलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरेको छ । उनी हाल अस्थायी प्रहरी चौकी कसहा, सिराहाको नियन्त्रणमा छन् ।










प्रतिक्रिया दिनुहोस्