काठमाडौँ, २३ असोज । जेनजीको सदस्य बताउँदै सवारी चालकलाई कुट्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी गाउँपालिकामा आफूलाई ‘जेनजी’ आन्दोलनको सदस्य बताउँदै सवारी साधन रोकेर चालकमाथि कुटपिटमा संलग्न सोही गाउँपालिका–१ का २२ वर्षीय अमिर रुम्बालाई पक्राउ गरेको हो । असोज २२ गते राति १० बजेको समयमा रुम्बाले केही व्यक्तिहरूसँग मिलेर भीमफेदी–१ स्थित सानुटार याङराङपुलमा सडक अवरुद्ध गरेर जेनजीको सदस्य हुँ भन्दै चालकमाथि कुटपिट गरेका थिए ।
सो समूहले विशेष गरी तरकारी तथा कृषिजन्य उत्पादन बोकेका ढुवानीका साधनहरूलाई गैरकानुनी रूपमा रोकेर चालकहरूसँग सोधपुछ र जाँच गर्ने, कुटपिट गर्ने तथा अश्लील शब्द प्रयोग गरी दुर्व्यवहार गरेको बताइएको छ ।
पीडित चालकहरूको उजुरीको आधारमा प्रहरीले रुम्बालाई बुधबार राति नै नियन्त्रणमा लिएको हो ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको र पक्राउ परेका रुम्बामाथि थप अनुसन्धान तथा आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्