राजनीति

मिडियाले सकारात्मक धारणा निर्माणको अगुवाइ गर्नुपर्छ : मुख्यमन्त्री आचार्य



बुटवल, १७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्रलाई सकारात्मक धारणा निर्माणमा अगुवा भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय टेलिभिजन प्रसारक सङ्घ लुम्बिनी प्रदेशको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण समारोहलाई आज  रुपन्देहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मिडिया क्षेत्रको दिगोपनाका लागि प्रतिबद्ध रहेको समेत बताए । मुख्यमन्त्री आचार्यले हरेक विषयमा नकारात्मक रूपमा अघि बढ्ने प्रवृत्ति देखिन थालेको बताउँदै हामीले सकारात्मक सन्देश दिने गरी काम गर्न जरुरी रहेको बताए ।

लुम्बिनी प्रदेशको समृद्धि र विकासका लागि सञ्चार क्षेत्रले सम्भावना पहिचान गर्दै सकारात्मक योगदान दिनुपर्नेमा उनले जोड दिए । मुख्यमन्त्री आचार्यले मुलुक  बनाउन बाहिरबाट कोही नआउने बताउँदै आफैँले बनाउन अग्रसर हुनुपर्ने बताए ।