काठमाडौँ, २६ असोज । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अहिले कुनै पार्टीसँग एकता गर्ने बेला नरहेको बताएका छन् ।
जेनजी आन्दोलनका क्रममा आगोमा जलेर घाइते भएकी पत्नी रविलक्ष्मी चित्रकारको उपचारका क्रममा दिल्लीमा रहेका खनालले अहिले पार्टी पुनर्गठन र रूपान्तरण समय रहेको बताएका छन् ।
उनले भनेका छन्, “सबैतिर सर्वत्र पुनर्गठन र रूपान्तरणको माग उठिरहेको छ । यो युगको माग हो, यो समयको माग हो, यो जनताको माग हो र यो सिंगो राष्ट्रको मागसमेत हो । यो फगत पुस्तावादको माग होइन, सबै पुस्ताको क्रान्तिकारी पुनर्गठन र रूपान्तरणको माग हो,” “त्यसलाई अस्वीकार गरेर कोही अघि जान सक्दैन । कमरेडहरू, यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन ।”
एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) बीच एकताको चर्चा हुँदै आएका बेला खनाल विपक्षमा उभिएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सत्तामा रहेका र सत्तामा सहभागी सबै पार्टीका नेतृत्वले मुलुकलाई सही दिशा दिन नसकेकामा जिम्मेवारी लिनैपर्ने बताएका छन् ।
“मुलुकलाई सही दिशा दिने भनेको राजनीतिले र आजको अवस्थामा राजनीतिक पार्टीले नै हो । हामी अहिले बहुदलीय प्रणालीमा छौँ । दलबाहेक कसैले पनि जनता र मुलुकलाई सही बाटो देखाउन सम्भव हुँदैन । त्यसमाथि वामपन्थी दलले नै आमजनता र राष्ट्रलाई सही मार्ग देखाउनुपर्ने हो,” उनले भनेका छन् ।
उनले एमालेबाट चार वर्षअघि गरिएको विद्रोहको समीक्षा गर्नुपर्ने पनि उल्लेख गरेका छन् । “ठिक बेठिक के गर्यौँ, दुध र पानी छुट्याऊँ । हामीले नवौँ राष्ट्रिय महाधिवेशनदेखि नै उठाएको युवा आवाज र कार्यविधिको कुरालाई ध्यान दिऊँ । हाम्रै पार्टी भित्रका युवाहरूको आवाज अनुरूपसमेत पार्टीलाई सही वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तका आधारमा पुनर्गठन गरौँ, पार्टीलाई आमूल परिवर्तनकारी र नेपाली विशेषताको समाजवादका निम्ति दृढ संकल्पित पार्टीमा रूपान्तरण गरौँ, यही दिशाका आधारमा सकेसम्म सबै क्रान्तिकारी कम्युनिष्ट, वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिहरूलाई गोलबन्द गरौँ,” खनालले भनेका छन् ।










प्रतिक्रिया दिनुहोस्