काठमाडौँ, १६ कार्तिक । काठमाडौँ उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गर्न पाँच दिनदेखि भइरहेको अवरोध अन्तत: हटेको छ । सडकमै अलपत्र र काठमाडौंमा फोहोर लोड भएका गाडी अवरोध हटेपछि ल्यान्डफिल साइटतर्फ गएका छन् ।
सहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको हो । फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका लागि मन्त्री घिसिङ, सहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौं, नुवाकोट तथा धादिङका प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत सहित टोली लिएर आइतबार बिहान बन्चरेडाँडा पुगेका थिए ।
मन्त्री घिसिङका ९ प्रतिबद्धता
१. प्रभावित बासिन्दासँग विगतमा भएका सहमति एवं सम्झौता कार्यान्वयन गर्ने, सहमति कार्यान्वय प्रक्रिया अगाडि बढाउन १५ दिनको समय माग गर्दै फोहोर फाल्न अवरोध नगर्न अनुरोध गरे ।
२. फोहोर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन योजना सहित अगाडि बढ्ने । अल्पकालीन रूपमा गर्न सकिने काम तत्काल अगाडि बढाउने, विगतमा भएका सहमति कार्यान्वयनका लागि गर्नुपर्ने नीतिगत निर्णय गर्ने ।
३. स्थानीयले उठाउँदै आएको लिच्चड व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयको संयोजनमा सबै सरोकारवाला निकाय सम्मिलित समिति बनाइने । पोखरीमा जम्मा भएको लिच्चड खोलामा जान नदिन रिसाइकल गर्न तत्काल पम्प सञ्चालन गर्ने ।
४. ल्यान्डफिल साइटमा जथाभावी फोहोर फालिएको गुनासो सम्बोधन गर्न सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित पालिकाका १/१ प्रतिनिधि रहने गरी अनुगमन समिति बनाइने ।
६. रात्रिकालीन फोहोर व्यवस्थापन गर्न साइटमा आवश्यक बत्ती व्यवस्था गरिने ।
७. वैज्ञानिक व्यवस्थापनका लागि फोहोर छुट्याउन विभिन्न ठाउँमा पहिचान गरिएका सार्वजनिक जग्गा स्थानीय तहलाई उपलब्ध गराउन मन्त्रिपरिषद्बाट आवश्यक निर्णय लिइने ।
८. ईआईएपछि प्रभावित क्षेत्र पहिचान हुने भएकाले सोही बमोजिम जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढ्ने ।
९. दीर्घकालीन फोहोर व्वस्थापनका लागि लगानी बोर्डले अगाडि बढाएको प्रक्रियामा भएको कानुनी अडचन काठमाडौं उपत्यकाका मेयर्स फोरमलाई समेत सहभागी गराएर समाधान गरिने ।










प्रतिक्रिया दिनुहोस्