काठमाडौँ, १७ कार्तिक । राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने स्पष्ट पारेको छ ।
आइतबार विज्ञप्ति जारी गर्दै विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौताअनुसार आगामी फागुन ११ देखि राहदानी सेवा सुरु हुने गरी नयाँ पूर्वाधार तथा प्रणाली निर्माण भइरहेको जानकारी दिएको छ ।
नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने सङ्क्रमणकालीन अवस्था तथा राहदानी पुस्तिकाको सीमित सङ्ख्या र सेवाग्राहीको उच्च मागलगायतका कारणले राहदानी वितरणमा केही समस्या हुन गएको विभागले जनाएको छ ।
उक्त अवधिसम्म राहदानीको अभाव नहुने व्यवस्था गर्न आवश्यक पहल भइरहेको र अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक पर्ने सेवाग्राहीले मात्रै राहदानीका लागि आवेदन दिन विभागले सबैलाई आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्