राजनीति

एकीकृत समाजवादी पार्टीसँगको यात्रा टुंगियो : रामकुमारी झाँक्री



काठमाडौँ, १९ कार्तिक । एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले सो पार्टीसँगको यात्रा टुंगिएको बताएकी छन् ।

आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीकी संस्थापक नेता समेत रहेकी झाँक्रीले पार्टी विघटनमा गएको र आफूहरुको यात्रा पनि टुंगिएको बताएकी हुन् ।

माधव कुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको निर्णय गरे पनि रामकुमारी, किसान श्रेष्ठ लगायतले निर्णयमा विमति जनाएका छन् ।

उनले भनिन्, ‘नेकपा एकीकृत समाजवादी निर्माणका प्रारम्भका दिनहरुमा हामी एउटा भयंकर नै अभियान चल्छ भन्ने विश्वासका साथ लागेका थियौं । त्यो अब समाप्त भएको छ,’ ‘हाम्रो समाजवादी पार्टीसँगको यात्रा, त्यो पार्टी विघटनसँगसँगै टुंगियो ।’

अवरुद्ध बाटो र यात्रुको उदाहरण दिँदै उनले भनिन्, ‘जब हाम्रो बाटो पनि अवरुद्ध हुन्छ त्यतिबेला कसरी अगाडि बढ्ने भन्नका लागि पनि बाटोमा उभिनुपर्छ । यात्रालाई पज गर्नुपर्छ । त्यसपछि उपयुक्त मार्गहरु प्रशस्त गरेर यात्रा अगाडि बढाउनुपर्ने हुन्छ ।’