विश्व

म्यानमारमा कम्तिमा ३८ प्रदर्शनकारीको मृत्यु



एजेन्सी, २ चैत । म्यान्मारमा गत महिना सैन्य कू भएयताकै सबैभन्दा घातक दिनको रूपमा आइतवार भएका प्रदर्शनमा सुरक्षा फौजले कम्तिमा ३८ जना प्रदर्शनकारीहरूलाई मारिदिएको त्यहाँका अभियानकर्मीहरूले बताएका छन् ।

द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले मुख्य शहर याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा कम्तीमा २१ प्रदर्शनकारीहरू मारिएको जनाएको छ। बाँकी मृत्यु देशका विभिन्न भागमा भएका हुन् ।

बीबीसीका अनुसार याङ्गुनमा प्रदर्शनकारीहरूले लाठी र छुरीको प्रयोग गरेपछि सुरक्षा फौजले गोली चलाएको थियो। त्यहाँको एक औद्योगिक क्षेत्रमा चिनियाँ व्यवसायमाथि हमला भएपछि याङ्गुनको धेरै भागमा सैन्य कानुन लागु गरिएको जनाइएको थियो ।