काठमाडौं, ६ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चा चुनावमा सहभागी हुने भए दुई चरणमा चुनाव गराउन आफूहरु तयार रहेको बताएका छन् ।
चुनाव बिना मुलुकलाई अघि बढाउन सम्भव नरहेकोले संशोधन प्रस्ताव पारित गराएर अघि बढ्न मोर्चा र एमालेलाई उनले आग्रह समेत गरे ।
उनले मुलुक चुनावमय भइसकेकोले चुनावबाट भाग्दा मोर्चालाई फाइदा नपुग्ने बताए । मोर्चालाई चुनावबाटै आफ्ना मागहरु स्थापित गर्न उनले आग्रह समेत गरे ।
‘जनता आफ्नो अधिकार स्थापित गर्नका चुनाव चाहन्छन् । त्यसमा पनि मधेसी जनताले अझ बढी चुनाव चाहिरहेका छन्,’ देउवाले भने, ‘यो चुनाव मुलुकको लागि जीवन–मरणको अवस्था हो । प्रजातन्त्र र बहुदलिय व्यवस्था टिकाईराख्न चुनावको विकल्प छैन ।’
झापाको कमल गाउँपालिकास्थित आदिवासी रंगशालामा आयोजित कांग्रेसको प्रदेश नं। १ को आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले चुनाव नचाहने पक्षले राष्ट्रियताको कुरा गरेर षड्यन्त्र गरिरहेको आरोप लगाए । ‘कसैले मधेसी राष्ट्रवाद, कसैले पहाडी राष्ट्रवादको कुरा गरेर मुलुकमा विखण्डन ल्याउन चाहन्छन् । तर, हामीले त्यसलाई रोक्नुपर्छ । सबै पक्षको मेलमिलाप नै अहिलेको खाट्टी राष्ट्रवाद हो,’ उनले भने ।कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्