तारा एयरको पोखरा-जोमसोम उडान एक साता बन्द हुने

काठमाडौँ, १९ जेठ । तारा एयरलाइन्सले पोखरा-जोमसोम उडान एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ।

तारा एयरका अनुसार एक साताका लागि पोखरा-जोमसोमको उडान बन्द गर्ने निर्णय गरेको हो । यस्तै बिहीबार हुने तारा एयरका सबै उडान रद्द भएका छन् । काठमाडौंबाट ५ वटा र नेपालगन्जबाट हुने ५ वटा उडानहरू रद्द गरिएको छ ।

उडान गन्तव्यहरूमा हुने मौसम राम्रै भए पनि इनरूटको मौसम दिने मौसम विभागले जानकारी दिन नसक्दा आजका सबै उडानहरू रद्द भएका हुन् । यसैबीच जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरूट’ मौसमी पूर्वानुमान (फोरकास्ट) गर्न नसक्ने बताएको छ ।

मौसम विभागले बिहीबार एक सूचना जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिरकणले भने जस्तो आन्तरिक उडानको ‘इनरूट फोरकास्ट’ गर्न नसक्ने बताएको हो । सरकारले १५ जेठमा भएको तारा एयरको विमान दुर्घटनापछि इनरूट सफा नभएसम्म उडान नगर्न निर्देशन जारी गरेको छ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com