वैकल्पिक ऊर्जा र एनएमबि बैंकबीच नवीकरणीय उर्जाको प्रवर्द्धन गर्न सम्झौता

काठमाडौँ, २० जेठ । एनएमबि बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र केन्द्रीय नवीकरणीय ऊर्जा कोषबीच नवीकरणीय उर्जाको प्रवर्द्धन गर्न सम्झौता भएको छ ।

दुई पक्षबीच मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी प्रवर्द्धन गर्न दिगो ऊर्जा चुनौती कोष कार्यक्रम अन्तर्गत कर्जा नोक्सानी सुरक्षण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यो कोष बेलायत सरकारको अनुदानमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सहयोगमा स्थापना भएको हो । यो सम्झौताको मुख्य विशेषता बैंकले उल्लेखित प्रदेशहरूमा नवीकरणीय ऊर्जाका परियोजनामा गरेको कर्जा लगानीको भुक्तानी नभएमा त्यस्ता कर्जामा कोषले २० प्रतिशत सावाँ रकमसम्मको सुरक्षण प्रदान गर्नु हो । यसले एनएमबि बैंकलाई नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी विस्तार गर्नको लागि सहयोग मिल्नेमा बैंक विश्वस्त छ ।

एनएमबिले दिगो बैंकिङ मार्फत देशमा वास्तविक अर्थतन्त्रको प्रवर्द्धनको लागि साना तथा मझौला, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखि कार्य गर्दै आएको छ । बैंकले स्वच्छ ऊर्जाको प्रवर्द्धन र नेपालको ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई अझ दिगो तरिकाले रूपान्तरण गर्ने, स्वच्छ र नवीकरणीय ऊर्जाको उपयोग गर्ने र भारतबाट बिजुली र जीवाषेश इन्धन आयातमा रहेको ठूलो परनिर्भरता घटाउने सरकारको पहललाई साथ दिइरहेको छ ।

बैंकले अन्तर्राष्ट्रिय मान्यता प्राप्त हरित कर्जा लगानी सिद्धान्तहरूको आधारमा आफ्नो हरित लगानी कार्य र वातावरणीय एवम् सामाजिक व्यवस्थापन प्रणालीको विकास अन्तर्राष्ट्रिय वित्त निगमले वातावरणीय एवम् सामाजिक जोखिमको क्षेत्रमा निर्देशित गरेका मापदण्डहरू र अन्तर्राष्ट्रिय अभ्यासहरूलाई समेत समेटेर तयार पारेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com