सभामुखद्वारा अछामका घटनामा दोषीमाथि कारबाही गर्न निर्देशन

काठमाडौँ, २५ जेठ । सभामुख अग्नि सापकोटाले अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका छन् ।

आजको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले उक्त घटनाबाट आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकको विशेष समयमा सांसद यज्ञबहादुर बोगटीले शाहीको मृत्युको घटनामा प्रहरीले जाहेरीसमेत लिन नमानेको भन्दै सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुख सापकोटाले भने, ‘माननीय सदस्यले उठाउनु भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com