सत्ताधारी चार दलमा मन्त्री फेर्ने गृहकार्य

काठमाडौँ, २७ जेठ । समाजवादीले आफ्ना चार मन्त्री फेर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा पनि मन्त्री फेर्ने गृहकार्य शुरू भएको छ । ‘माधव नेपालजीहरूले जस्तो सबै मन्त्री फेर्ने, ६ महिना पुग्यो त्यसैले तिम्रो भाग सकियो भन्ने रणनीति त हाम्रो छैन, तर दिनदिनै साथीहरूको डेलिगेसन आइरहेको छ, हामी पनि मन्त्री फेर्ने गृहकार्यमा छौं’, नेपाली कांग्रेस पार्टीका एक कार्यसमिति सदस्यले नेपाल समाचारपत्रलाई बिहीबार भने– ‘एकीकृत समाजवादी र जसपाले मन्त्री फेर्न दबाब दिइरहेका छन्, माओवादी केन्द्रले पनि हाम्रोजस्तै एक–दुई जना फेरबदल गर्न सक्छ।’

कांग्रेस सांसद तथा नेताहरूमध्ये कतिपयले पार्टीभित्रै त कतिपयले सार्वजनिक कार्यक्रममै मन्त्री फेरबदल हुने जनाएका छन् । कांग्रेस महामन्त्री गगन थापाले आफ्नो पार्टीभित्र पनि सांसदहरूले दबाब दिइरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकबाट निस्कने क्रममा सञ्चारकर्मीसँग महामन्त्री थापाले भन्नुभयो– ‘हाम्रा साथीहरूले पनि इच्छा देखाउनुभएको छ । नयाँ साथीहरूलाई पनि अवसर दिनुपर्छ ।’ त्यस्तै, सत्तारूढ दलका माओवादी पनि मन्त्री फेर्नुपर्ने दबाब बढेको छ । पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउनुपर्ने माओवादी सांसदको तर्क छ ।

माओवादी नेता वर्षमान पुनले पनि पार्टीभित्र मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको खुलासा गर्नुभएको छ । ‘समाजवादीका साथीहरूले पूरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाब छ । कांग्रेस र जसपामा पनि दबाब छ’ –उहाँले प्रतिक्रिया दिनुभएको छ । ‘यस दबाबलाई नेताहरूले कति थेग्नुहुन्छ, थाहा छैन । तर, फेरबदलको मुडमा हामी पनि छौं, अहिले फेर्नुपर्छ भन्ने खालका आवाजहरू बढिरहेका छन् ।’ यसअघि नै जसपाले आफ्नो पार्टीभित्र ६ महिनाकै लागि भनेर सांसद साथीहरूलाई मन्त्री बनाएको जनाइसकेको छ । जसपा केन्द्रीय सदस्य एवं सांसद प्रदीप यादवले एकीकृत समाजवादीसँगै आफ्नो पार्टीका मन्त्री पनि फेरबदल हुनुपर्ने बताउनुभएको छ । अध्यक्ष उपेन्द्र यादवकै प्रस्तावमा ६ महिनाका लागि मात्रै मन्त्रीहरू पठाएको यादवको भनाइ छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com