अमेरिका जान कोरोना नेगेटिभ प्रमाण पेस गर्नु नपर्ने

वासिङटन, २८ जेठ । विदेशबा अमेरिका आउने हवाई यात्रुहरूले अबदेखि कोभिड–१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेस गर्नु नपर्ने भएको छ । अमेरिकी अधिकारीहरूले मुलुकले कोरोना भाइरसविरुद्धको युद्धमा उल्लेखनीय प्रगति हासिल गरेकाले कोरोना नेगेटिभ प्रमाण पेस गर्नुपर्ने नियम हटाइएको जानकारी दिएका छन् ।

भ्रमण उद्योगले यो नीतिको अन्त्यका लागि सरकारमाथि निरन्तर दबाब दिँदै आएको थियो । भ्रमण व्यवसायीहरूले यस नीतिका कारण परिवारहरू विदेशमा अलपत्र पर्ने डरले हवाई टिकट बुकिङ गर्न मानिस डराउने गरेको समस्या स्पष्ट पारेका थिए ।

आइतबार देखि यो नयाँ नियम लागू हुने भएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले यस नयाँ नीतिको आगामी नब्बे दिनसम्म पुनर्मूल्याङ्कन गर्ने भएको छ । तर, नयाँ कोरोना भेरियन्टहरू देखा परेर प्रतिकूल स्थिति सिर्जना भए तत्कालै पुरानो नीति अवलम्बन गर्नु आवश्यक रहेको अमेरिकी अधिकारीहरूको विश्वास रहेको सीडीसीले जनाएको छ । कोरोना महामारीको कारण विश्वमै अमेरिकाले सबैभन्दा बढी मानवीय क्षति बेहोर्नु परेको थियो । बीबीसी

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com