चितुवाको डरले बाहिर निस्किँदैनन् बन्दीपुरवासी

तनहुँ, ५ असार । तनहुँको बन्दीपुर गाउँपालिका–१ का बासिन्दा साँझ पर्नेबित्तिकै घरको ढोका थुनेर भित्रै बस्न बाध्य भएका छन् ।

साँझ परेसँगै चितुवा मानव बस्तीनजिक देखिन थालेपछि त्यस क्षेत्रका मानिस सतर्कता अपनाउन घर बाहिर निस्किन छाडेका हुन् । साँझ ७ः३० बजेपछि सबै घरका मानिसले ढोका थुनेर बस्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । रातको समयमा शौच गर्न पनि बाहिर जान डर हुने गरेको स्थानीयवासीको भनाइ छ । मञ्चमाया सारुले भनिन्, “सहर, बजारको घर भए पो घरभित्रै शौचालय निर्माण गरिएको हुन्छ । तर, गाउँघरतिर प्रायः शौचालय बाहिर नै बनाइन्छ,” उनले भनिन्, “बाँच्नु त पर्‍यो नि, बाहिर निस्कन डर लाग्छ ।”

चितुवाले आफ्नो करिब ३० हजार रुपैयाँ मूल्यबराबरको खसी खाइदिएर क्षति बनाएको उनले दुखेसो पोखिन् । एक सातामा उक्त क्षेत्रमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान जानुका साथै एक बालिकासहित तीन मानिस घाइते भएका छन् । चितुवाको आक्रमणबाट पाँच वर्षीय सुप्रिम बगाले बगरको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट आठ वर्षीय रियाना थापा, ३४ वर्षीय मिलाल बरायाञ्जा र एक महिला घाइते भएका छन् ।

चितुवाको आक्रमणबाट मानवीय क्षति भएपछि स्थानीय छपेली सामुदायिक वनमा तीनवटा खोर राखेर पासो थापिएको बन्दीपुर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए । सचेतनामूलक सन्देश प्रवाह गर्नुका साथै सुरक्षित भएर बस्न स्थानीय बासिन्दालाई आग्रह गरिएको उनले बताए ।

चितुवाका लागि खोर राखिए पनि हालसम्म चितुवा पासोमा पर्न सकेको छैन । जिल्लामा हालसम्म चितुवाको आक्रमणबाट १२ बालबालिकाले ज्यान गुमाइसकेका छन् । चितुवा देखिएमा तत्काल खबर गर्न स्थानीय बासिन्दालाई आग्रह गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । साँझ र बिहानको समयमा सुरक्षित भएर हिँड्डुल गर्न अनुरोध गरिएको उनले बताए । रासस

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com